माधव नेपाललाई अपमान गरेर एकता हुँदैन : गौतम
१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितको एकता जोगाउनुपर्नेमा जोड दिएका छन् ।
बालुवाटारमा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले भने, ‘पार्टीमा सबै नेताहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । अहिलेको परिस्थितीमा मुख्य नेतालाई अपमान गरेर एकता गर्न हुँदैन । त्यसैले माधव नेपालसहितको पार्टीलाई एकढिक्का बनाउनुपर्छ ।’
पार्टी एकताको लागि बनाइएको कार्यदललाई बीचमै निस्क्रिय पार्न नहुने उनले बताए । पार्टी एकता जोगाउन नसके कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनको भनाइ थियो । नेता नेपाल समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गल्ती गरेको आरोप लगाए ।
उपाध्यक्ष गौतमले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ । तर, उहाँहरुले त्यस्तो गर्नुभएन ।’ उनले आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘पार्टी एकता जोगाउन केपी कमरेड एक कदम पछाडि र माधव कमरेड एक कदम अगाडि बढ्नुपर्छ । म जहिले पनि एकताको पक्षमा छु । त्यो बेलामा पनि प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिन भनेको थिएँ, विषयअनुसार समर्थन र विरोध गर्छु ।’
उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’