पहिरो पन्छाएपछि अबरुद्ध कर्णाली करिडोर खुल्यो
१८ असार सुर्खेत । कर्णाली करिडोर अन्र्तगत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुख्खा पहिरो पन्छाएपछि अबरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठुलो सुख्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अबरुद्ध भएको थियो ।
कर्णाली करिडोरमा आएको सुख्खा पहिरो शुक्रबार बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग अबरुद्ध भएको करिब १२ दिनपछि खुल्ला भएको छ ।’ उनले भने,‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो । कर्णाली राजमार्गको भौरेकुना सुख्खा पहिरो सेना, प्रहरी र स्थानीयको पहलमा खुल्ला गरिएको छ ।’
लगातारको वर्षाका कारणले कर्णाली करिडोर १२ दिनदेखि नै अबरुद्ध रहेको थियो । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जादाँ अबरुद्ध भएको थियो ।
कर्णाली करिडोर अन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडक खण्डमा पहिरो गएको थियो ती सबै ठाउँका पहिरो पन्छाएको नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।