ओलीले बोलाएको बैठकमा सहभागी नहुने खनाल–नेपाल समूहको निष्कर्ष
१७ असार, काठमाडौं । नेकपा (एमाले)को बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएकाले बैठकमा नजाने निष्कर्ष निकालेको छ । खनाल–नेपाल समूहका नेताहरु उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको पार्टीका उप–महासचिव घनश्याम भुसालले बताए।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।
सोही विषयका विषयमा छलफल गर्न बिहीबार खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसी दशौं महाधिवेशन आयोजक कमिटी नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालले बताए ।
उप–महासचिव भुसालले भने, ‘भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन । पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’