रुपा सुनार घटनामा मानव अधिकार आयोगले सोध्यो शिक्षा मन्त्रीलाई स्पष्टिकरण, आयोगसँग मागे माफी
१६ असार, काठमाण्डौं । मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ । शिक्षा मन्त्री श्रेष्ठलाई आयोगको कार्यालयमा मंगलबार बोलाएर स्पष्टिकरण सोधेको हो । दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर मन्त्री श्रेष्ठले भूल स्विकारेका हुन् ।
आयोगका सह–प्रवक्ता लोकनाथ बाँस्तोलाले मन्त्री श्रेष्ठ आफ्ना स्वकीय सचिवसहित दिउँसो २ बजे आयोगमा आएको पुष्टि गरे । ‘सबै आयुक्त हुनुहुन्थ्यो । स्वकीय सचिवसहित मन्त्रीज्यू आउनुभयो र झण्डै दुई घण्टा छलफल गर्नुभयो’, बाँस्तोलाले भने ।
मन्त्री श्रेष्ठले आफूबाट गल्ती भएको स्विकार्दै आइन्दा यस्तो भूल नगर्ने बाचा आयुक्तहरू समक्ष गरेको आयोगका एक सदस्यले जानकारी दिए । सहप्रवक्ता बाँस्तोलाले भने छलफलबारे जानकारीसहितको प्रेस विज्ञप्ति जारी गरिने बताए । ‘आयुक्तहरू मात्रै बस्नुभएकाले मलाई पनि धेरै कुरा थाहा छैन’, उनले भने, ‘हिजै विज्ञप्ति निकाल्ने तयारी थियो । भ्याइएन । आज जारी हुने विज्ञप्तिमा सबै खुलाइने छ ।’
मानव अधिकार आयोगले रूपा सुनार प्रकरणको निगरानी गरिरहेको छ । तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिएकी थिइन्। लगत्तै प्रधान पक्राउ परेकी थिइन् ।
सरकारी वकिलको कार्यालयले जातिय विभेदको प्रमाण नपुग्दै भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो । प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित सिंहदरबार वृत पुगेका थिए ।