२० श्रावण २०७८, बुधबार

एमालेको औपचारिक निर्णय २ जेठ २०७५ मा फर्किने




१६ असार, काठमाण्डौं । नेकपा एमालेले असन्तुष्ट समूहको मागलाई सम्बोधन गर्दै पार्टीलाई २ जेठ २०७५ मा पुर्‍याउने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्‍याउने निर्णय गरेको हो ।

‘कार्यकर्ताको चाहनाअनुसार पार्टीलाई एकीकृत ढंगले २ जेठ २०७५ को अवस्थामा फर्किने निर्णय स्थायी कमिटीले गरेको छ । त्यसका लागि आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

एमालेभित्रको असन्तुष्ट पक्ष माधव कुमार नेपाल समूहले पार्टी एकतापूर्वको अवस्थामा फर्किनुपर्ने अडान राख्दै आएका थिए । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली उक्त अवस्थामा जान तयार भएका हुन् ।

बिहीबारका लागि एकतापूर्वको केन्द्रीय कमिटीको बैठक डाकिएको भए तापनि बुधबार बस्ने दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक नरोकिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीमाथि पनि प्रश्‍न उठाएको थियो । एमालेले कारबाही गरेका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्दै सर्वोच्चले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्‍न उठाएपछि ओली एकतापूर्वको कमिटी ब्युँताउन दबाबमा परेका थिए ।

सर्वोच्चको गत २३ फागुनको फैसलाबाट एमाले र माओवादी ब्युँताएपछि एमालेको २८ फागुनको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता नेपाल समूह असन्तुष्ट रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु