सर्वोच्चको अन्तरिम आदेशः माओवादीले कारबाही गरेका मेयरहरूलाई काम गर्न दिनु
१५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भर्इ दल त्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
माओवादी त्याग गरी एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो । न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
निवेदनका सम्बन्धमा देखिएको विवादका सम्बन्धमा गम्भीर कानुनी व्याख्या गर्नुपर्ने, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको एकिन नभएको देखिएकाले उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन अन्तरिम आदेश दिएको बताइएको छ ।
माओवादी केन्द्रको बैशाख १३ गते बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त गर्ने निर्णय गरेको थियो । उनीहरूलाई पदमुक्त भएको जानकारी आयोगले असार ११ गते दिएको थियो ।
सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म माओवादीको निर्णय, निर्वाचन आयोगको निर्णय र पत्राचार कार्यान्वयन नगर्न भनेको छ । दल त्याग गरेको अवस्थामा भने निर्वाचित जनप्रतिनिधि स्वतः पदमुक्त हुने अन्तरिम आदेशमा बताइएको छ ।