रूपाविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गर्न काउन्सिलको पत्र
१५ असार, काठमाडौं । रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन प्रेस काउन्सिल नेपालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
प्रेस काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन पत्रिका प्रकाशन र प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै प्राधिकरणलाई पत्राचार गरेको हो । काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई एकै पटक बन्द गराउने निर्णय गरेको हो ।
सुनारले आफूविरूद्ध अफवाह फैलाएको भन्दै काउन्सिलमा ९ वटा मिडियाविरूद्ध उजुरी दिएकी थिइन्। उनले अनलाइनले अफवाह फैलार्इ जातजाति, धर्म वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको भनी निवेदन दिएकी थिइन।
सुनाले जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचना प्रकाशन र प्रशारण गरी अफवाह फैलाइएको उल्लेख गरेकी थिइन्। कोठा खोज्न जाँदा थरकै कारण घरबेटीले कोठा भाडामा नदिएको भन्दै उनले सरस्वती श्रेष्ठविरूद्ध उजुरी दिएकी थिइन्। अहिले घरबेटी श्रेष्ठ रिहा भइसकेकी छिन्।