खनाल–नेपालसहित ११ नेताबाहेक अरुलाई एमालेको बैठकमा बोलाइयो
१५ असार, काठमाडौं । नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेताहरुलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि बोलाइएको छ ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको बताएका छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जना बाहेक अन्य केन्द्रीय सदस्यहरूलाई मात्र बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १० गते नेता खनाल, नेपाल सहित ११ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेका थिए ।
ओलीले कारबाहीमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइ दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले गत वर्ष फागुन २८ गते दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने तयारी अध्यक्ष ओलीले गरेको जानकारी प्राप्त भएको छ ।