१० आश्विन २०७८, आईतवार

नेपाली कम्पनीको लापरवाहीले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल पैंचो ल्याउदैछौं : कृषि मन्त्री भुसाल



१७ भाद्र, काठमाडौं । कृषि मन्त्री घनश्याम भुसालले सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल पैंचो ल्याउने बताएका छन् । ग्लोबल टेन्डरमार्फत् छनौट भएका दुई नेपाली कम्पनीहरूले तोकिएको समयमा मल ल्याउन नसकेपछि बङ्गलादेशबाट मल ल्याउन लागिएको हो ।

मंगलबार प्रधानमन्त्री केपी ओली र बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाबीच फोन वार्ता भएपछि तत्काल ५० हजार मेट्रिक टन रसायनिक मल ल्याउने सहमति भएको छ । कृषि मन्त्री भुसालले भने, ‘कृषि मन्त्रालयले मल ल्याउने सन्दर्भमा बङ्गलादेश सरकारलाई केहि समय अघिदेखि नै अनुरोध गर्दै आएको थियो । बङ्गलादेशीबाट प्रधानमन्त्रीस्तरमै कुरा गर्नुपर्ने भनेपछि मंगलबार बङ्गलादेशी प्रधानमन्त्रीसँगको छलफलबाट मल आउने टुंगो लागेको छ ।’

दुइवटा कम्पनीको लापरवाहीले लाखौं कृषक अप्ठ्योरोमा पर्नुहुन्न भनेर प्रधानमन्त्रीस्तरमै कुरा गरेर भएपनि मल ल्याउन लागिएको मन्त्री भुसालले जानकारी दिए । मन्त्री भुसालले भने– ‘दुवै देशका प्रधानमन्त्रीबीच मंगलबारपछिका १५ दिनभित्र रसायनिक मल ल्याउने सहमति भएको छ ।’ मन्त्री भुसालका अनुसार हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ३२ हजार मेट्रिक टन मल स्टक छ । सो मल वितरण भइनस्कदै बङ्गलादेशको मल आइ पुग्नेछ । मन्त्री भुसालले भने, ‘पैंचोका रूपमा ल्याइने सो मल आगामी वर्ष ग्लोबल टेण्डरमार्फत् सरकारले खरिद गरेर करिब ९ महिना भित्र पैंचो तिर्ने योजना छ ।’

भारत र चीनबाट मल ल्याउन खोजिएपनि नपाइएपछि बङ्गलादेशबाट मल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । छिमेकी मुलुक बाहेक अन्य देशसँग पनि पैंचो लिएर काम चलाउने नयाँ सुरुवात भएको मन्त्री भुसालले बताए ।

गत पुष २९ र माघ ४ गते ग्लोबल टेन्डरमार्फत् छिटोमा ७२ दिनभित्र र ढिलोमा ११७ दिनभित्र मल ल्याउने गरी नेपाली कम्पनी शैलुङसँग वैशाख १२ गते र होनिकोसँग १५ गते ठेक्का सम्झौता भएको थियो । सबैभन्दा कम कबोल गरेको होनिकोसँग प्रतिटन ३०९.९ अमेरिकी डलर शैलुङसँग प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
शैलुङ इन्टरप्राइजेजका शारदाप्रसाद अधिकारी र होनिको हुमनाथ कोइरालको कम्पनि हो । शैलुङ इन्टरप्राइजेज लिमिटेड र होनीको मल्टीपल लिमिटेडलाई २५ हजार मेट्रिक टनका दरले ५० हजार मेट्रिक टन मल ढिलोमा भाद्र २० सम्म ल्याउने सहमति भएको थियो ।

तर ११७ दिनको समयावधि भाद्र २० मा सकिनै लाग्दा पनि दुबै कम्पनीले एल.सी अर्थात् प्रतित पत्र खोल्ने बाहेक मल ल्याउनलाई अन्य कुनै प्रक्रिया अगाडि नबढाएको पाइएपछि पैंचोका रूपमा मल ल्याउन बाध्य भएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी तोकिएको मिति भाद्र २० गतेसम्म पर्खिएर २१ गते नै ठेक्का रद्द गरी कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छ । मल नल्याउने, आर्थिक अनियमितता गर्ने कम्पनीहरूलाई विगतमा कारबाही नभएको परिप्रेक्ष्यमा शैलुङ र होनिको मल्टिपलको धरौटी समेत जफत गरिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कृषि मन्त्री भुसालले पनि दुबै कम्पनीलाई कानुन बमोजिम थयोचित कारबाही प्रक्रिया अगाडी बढाइने बताए ।

मल आयातमा विगतदेखि नै हुँदैआएको चलखेल अन्त्य गरी सहज रूपमा मल आपूर्ति हुने प्रणालीको विकास गर्ने तयारीमा मन्त्रालय पनि जुटिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको