१५ आश्विन २०८०, सोमबार

कर्णाली नदीको पक्की पुल भासियो, आवत–जावतमा रोक



१३ असार, काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने राजापुरस्थित कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ ।

नदीको छालले बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि पुल भासिन थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए । त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले पुलको आधा भाग कर्णालीमा ढाकिएको बताउदै आवतजावत पूर्णरुपमा अवरोध भएको जानकारी दिए ।

उनले भने, ‘पुलको अन्तिम पिल्लर नदीकै बीचमा छ । त्यहाँ पर थप दुई पिल्लर राख्नुपर्ने हामीले माग गरेका थियौं, निर्माण गर्दा ध्यान नदिएपछि अहिले यस्तो भएको हो ।’

स्थानीयका अनुसार पिल्लर थप नगरी नदी किनारमा माटोले पुरेर अग्लो बनाई बाटो बनाइएकाले निर्माण सकिएदेखि नै त्यहाँ कटान भइरहेको ठकुल्लाले बताए ।

‘ठेकेदारले आफ्नो जिम्मामा भएसम्म पाँच वर्ष वर्सेनी जाली हाल्ने, त्यो फेरि नदीभित्र पर्ने भइरहेको थियो । उसको पाँच वर्ष सकियो । यो वर्ष फेरि भत्किन सुरु भयो’ वडाध्यक्ष ठकुल्लाले भने ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रमनकुमार रेग्मीले नदीभन्दा पुल सानो भएकाले कटानको चपेटामा परेको बताएका छन् । उनले भने, ‘पूर्व भागको तटबन्ध पानीले लगेर पुलभन्दावारि नदी आउला जस्तो भएको छ । पुलको छेउतिरबाट माटो बग्न थालेपछि ४० करोड लगानीको पुल बग्ने खतरा बढेको छ ।’

बर्दियाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोली पुलको अवस्थाबारे बुझ्न शनिबार कर्णाली नदी पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको