गुल्मीको मालिका गाउँपालिकाले पारित गर्यो लोकल रक्सीलाई ब्राण्ड बनाउन ऐन
१२ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले लोकल रक्सीलाई ब्राण्ड बनाउनको लागि ऐन पारित गरेको छ । प्रदेश नं. १ र देशका अन्य ठाउँमा पनि लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा मालिका गाउँपालिकाले यस्तो ऐन नै पारित गरेको हो ।
मालिका गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा अन्तर्गत कोदो तथा खुर्पानीको रक्सी उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो ।
स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई कानुनी रूपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका नेपालमै पहिलो गाउँपालिका बनेको छ ।
नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिएको गाउँपालिकाले जनाएको छ । उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरी स्टिकर टास्ने र शिलबन्दी गर्ने कुरा ऐनमा व्यवस्था गरिएको छ ।
लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि गाउँपालिकाले विभिन्न नीति नियम बनाएको छ । गाउँपालिकाले बनाएको नीति तथा नियमभन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।