१५ मंसिर २०७८, बुधबार

सर्लाहिमा एक्स्काभेटर चालकद्वारा वडाध्यक्षको हत्या



१२ असार, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटर चालकले हत्या गरेका छन् ।

सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरका अनुसार सामान्य विवादमा चालक हर्षबहादुर तामाङले एक्स्काभेटर बकेटले हिर्काएर वडाध्यक्ष श्रेष्ठको हत्या गरेका हुन् । चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएका उनले बताए ।

शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न गएका थिए । नगरपालिकाको बजेटबाट भइरहेको उक्त काम हेर्न वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातीमा बकेट प्रहार गरेको प्रहरीले जनाएको छ ।

पोखरीको विवाद वा अन्य राजनीतिक कारणले वडाअध्यक्षको हत्या भएको हो भन्नेबारे नखुलेको एसपी राठौरले बताए । यद्यपि चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको छ । सिंचाइका लागि पानी जम्मा गर्न सो पोखरी निर्माण गरिएको थियो । नगरपालिकाको बजेटमा हाल सो पोखरीको मर्मत सम्भार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको